केन्द्रीय समिति बैठकमा उपसभापति शर्माले भने- कांग्रेसलाई एकतावद्ध बनाउनुपर्छ

होमल्याण्ड खबर

२०८३ श्रावण २९ गते, शुक्रबार १३:१६ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको मतभेद र असहमतिका बीच पनि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताएका छन् । संस्थापनइतर समूहले शुक्रबार काठमाडौंमा राष्ट्रिय भेला गरिरहेका बेला शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै मुलुकको आवश्यकता भएको बताएका हुन् ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै शर्माले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र मुलुकको समुन्नतिको यात्रालाई गति दिन कांग्रेसभित्र सुदृढ एकता आवश्यक रहेको बताए ।

पार्टीभित्र देखिएका प्रतिकूलता र फरक मतलाई व्यवस्थापन गर्दै कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै उनले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा पार्टी अझ बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनको यस्तो धारणा संस्थापनइतर समूहले पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, नेतृत्व र संगठनात्मक विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरिरहेका बेला आएको हो । भेलामा पार्टीको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ ।

‘व्यक्ति र संस्थाप्रतिको निष्ठामध्ये चयन गर्नुपर्दा हामीले पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ । व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु,’ उनले भने ।

पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूले जेठ १६ गते नै सातबुँदे लिखित प्रस्ताव नेताहरूसमक्ष पठाएको पनि शर्माले बताए । आन्तरिक विषय भएकाले त्यसबेला संयम र परिपक्वता देखाउँदै प्रस्तावलाई गोप्य राखिएको र पछि जेठ ३१ गते सार्वजनिक गरिएको उनको भनाइ थियो ।

गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिलाई कसैको जित वा हारका रूपमा बुझ्न नहुने शर्माले बताए ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू पूर्ण रूपमा दृढ रहेको पनि उनले बताए ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जुनसुकै प्रतिकूलताका बीच पनि मंसिरअघि नै १५औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । उनले महाधिवेशनबाट गगन थापालाई ७१ प्रतिशत मतसहित सभापति बनाउने दाबीसमेत गरेका छन् ।

‘१५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ । ५१ प्रतिशत होइन, अब ७१ प्रतिशत मत ल्याएर गगन थापालाई सभापति बनाउन प्रतिबद्ध छौँ,’ उनले भने ।

शर्माले पार्टीभित्र असन्तुष्ट समूहले आयोजना गरेको राष्ट्रिय भेलाप्रति पनि टिप्पणी गरे । उनले उक्त भेला बीपी स्मृति दिवसका बेला संस्थापन पक्षमाथि गरिएका टिप्पणीको निरन्तरताजस्तो देखिएको बताए ।

असन्तुष्टि र आलोचना मात्रै गर्ने भेला ‘निन्दा सम्मेलन’ जस्तो बन्ने भन्दै शर्माले यसले पार्टीलाई बलियो बनाउन सहयोग नगर्ने धारणा राखे ।

उनले पार्टीभित्रका मतभेदलाई व्यवस्थापन गर्दै महाधिवेशनमार्फत नयाँ नेतृत्व र संगठनात्मक ऊर्जा दिनुपर्नेमा जोड दिए ।

पार्टीभित्र नेतृत्व र कार्यदिशालाई लिएर मतभेद चर्किरहेका बेला संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई कांग्रेसभित्रको असन्तुष्टि र आगामी रणनीतिबारे साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।