१४ आश्विन २०८३, बुधबार
प्रधानमन्त्री बालेन शाहले इन्जिनियरिङ पृष्ठभूमि भएका सांसदहरूसँग बुधबार छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसद्मा उठिरहेका विषय, बाढीपहिरोबाट सिर्जित अवस्था तथा विकास निर्माणसँग सम्बन्धित विषयमा विचार–विमर्श भएको थियो।
बैठकमा सांसदहरूले बाढीपहिरोपछि देखिएको अवस्थाबारे आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले संसद्मा सांसदहरूले उठाउने विषय र त्यसले पार्ने प्रभावबारे आफ्नो धारणा राखेका थिए।


प्रधानमन्त्री शाहले इन्जिनियरिङ क्षेत्रमा अनुभव भएका सांसदहरूबाट औद्योगिकीकरण र समग्र देश विकासका लागि नयाँ सोच तथा रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन्। संसद्मा उठाइएका विषयहरू सरकार र प्रधानमन्त्री कार्यालयले गम्भीरतापूर्वक सुनिरहेको उल्लेख गर्दै उनले विकाससँग सम्बन्धित नयाँ अवधारणा वा सुझाव भए प्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयमा राख्न सकिने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. राम लामाका अनुसार बैठकमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूको अनुभव, विज्ञता र विकाससम्बन्धी सुझावबारे प्रधानमन्त्रीसँग छलफल भएको थियो।