बुढीगण्डकी बाढीप्रति पूर्वप्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

होमल्याण्ड खबर

२०८३ आश्विन २५ गते, आईतवार १३:२३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट नदी किनारका बस्तीहरूमा पुगेको असरप्रति गम्भीर दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री देउवाले बाढीका कारण तटीय क्षेत्रका नागरिकले भोग्नुपरेको समस्याप्रति चिन्ता प्रकट गरेका हुन् ।

देउवाले बुढीगण्डकी र त्रिशूली नदीको तटीय क्षेत्र तथा किनारका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेका छन् ।

साथै, विपद्को यस कठिन घडीमा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा सहयोग पुर्याउन पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई स्वयंसेवकका रूपमा मैदानमा जुट्न उनले आह्वान गरेका छन् ।

अविरल वर्षा र उच्च हिमाली भागमा पहिरो खसेर नदी थुनिएपछि आज बिहान बुढीगण्डकी नदीमा भीषण बाढी आएको थियो, जसका कारण तल्लो तटीय क्षेत्रका थुप्रै घरटहरा तथा पूर्वाधारहरूमा क्षति पुगेको छ।