संसदीय सुनुवाई समितिको बैठक बस्दै: बैठकमा उपस्थित हुन नेकपाको ‘ह्वीप’

होमल्याण्ड खबर

२०७५ फाल्गुन १४ गते, मंगलवार १०:११ मा प्रकाशित

संसदीय सुनुवाई बिशेष समितिको बैठक मंगलबार बस्दैछ ।

आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेपछि स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।

मंगलबारको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाइ र अनुमोदन गर्ने तयारी छ ।

आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदहरुलाई ‘ह्वीप  लगाएको छ ।

नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना, कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १/१ जना सांसद सदस्य रहेका छन् ।

प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ ।