नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का

होमल्याण्ड खबर

२०७६ जेष्ठ २६ गते, आईतवार १६:५० मा प्रकाशित

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन्। शनिबार भएको सङ्घको निर्वाचनमा खड्काको प्यानल नै विजय भएको छ ।

जम्मा ३८७ मत खसेको मध्येबाट खड्काले २१८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी सरिता लामिछानेले १६१ मत प्राप्त गरी ५७ मतान्तरले पराजित भइन् ।
दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत पाएका छन् ।

उप्रेती खड्का प्यानलबाट उम्मेदवार दिइन्। त्यस्तै खड्का प्यानलबाट उपाध्यक्ष उम्मेदवार रहेका विनोदकुमार भट्टराईले ९६ मत रअर्का उम्मेदवार मनोज केसीले १४२ मत प्राप्त गरेका छन् ।

महासचिव पदमा चेतबहादुर सिंह राजाले ‘१८७’ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याएका छन् ।

सचिव पदमा खड्का प्यानलकी पनाह अधिकारीले १९४ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत झरेको छ । कोषाध्यक्ष पदमा सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् । सह कोषाध्यक्षमा पनि खड्का पक्षीय उम्मेदवार पवित्रा आचार्य विजयी भएकी छन्। उनले २२० मत प्राप्त गरिन्। सहकोषाध्यक्ष पदका अर्का उम्मेदवार डिबी बमजनले १३३ मत प्राप्त गरे।

१० जना निर्वाचित सदस्यमध्ये शीतल केसीले सर्वाधिक मत ल्याएर विजयी भएका छन् ।

अन्य ९ जना सदस्यहरुमा जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन्।
लामो समयको मतभेद र विवादपछि सम्पन्न संघको निर्वाचनमा

उपाध्यक्ष सानुकुमार बाहेक खड्काको प्यानल नै विजयी भएको हो ।

खड्का ०४८ मा विधिवत् गठन भएको कलाकार संघको संस्थापक अध्यक्ष समेत हुन् ।

झन्डै २८ वर्षपछि पुनः अध्यक्षको जिम्मेवारी पाएका खड्काले महाधिवेशनमा संघको भवन निर्माण, कलाकारको सुरक्षा लगायका बिषय एजेन्डाको रुपमा अगाडि सारेका थिए ।

विजय पछि खड्काले आफ्नो जित सम्पूर्ण व्यवसायी कलाकारको जित भएको प्रतिक्रिया दिएका छन् । साथै पराजित सरिता लामिछानेले चलचित्र कलाकार संघमा गैह्रकलाकार नआएको भन्दै व्यंगात्मक रुपमा रवीन्द्रलाई बधाई तथा शुभकामना दिएकी छन् ।