राजपा नेपालमा विवाद: भोलिदेखि सुरु हुने बैठक अन्योलमा

होमल्याण्ड खबर

२०७६ भाद्र १२ गते, बिहीबार १२:३५ मा प्रकाशित

राजपा नेपालको राजनीतिक समितिको बैठक भोलिदेखि सुरु हुँदैछ ।

राजपा नेपालको विवाद चुलिएसंगै बैठकको मुखमा पार्टीभित्र अध्यक्ष मण्डलका केही सदस्यहरु भने पार्टी नै छोड्नेसम्मको तयारीमा जुटेका छन् ।

यसैबीच राजेन्द्र महतो र शरदसिंह भण्डारी राजपा छोडेर उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको उनीहरुको निकट स्रोतको दाबी छ ।

हिजोमात्रै, भण्डारीनिकट महासचिव केशव झाले भदौ १३ र १४ गतेको लागि बोलाईएको बैठक नै अवैधानिक भएको भन्दै तत्काल बैठक स्थगित् गर्नुपर्ने बताएका थिए ।

उनले अध्यक्ष मण्डलका सदस्यहरुसँग छलफल नगरी बोलाईएको बैठकले पार्टीलाई गतिशिल बनाउनुको साटो झन अप्ठ्यारो र विवादको भूमरीमा फसाउने संकेत गरेका थिए ।

यसअघि पनि राजपा र समाजवादी पार्टीबीच एकताको प्रयास भने चलेको थियो । यसको लागि महतोले विशेष जिम्मेवारी बहन गर्दै राजपाबाट काम गरेका थिए ।

यो बीचमा महतो र समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवबीच धेरै पटक भेटवार्ता भएका छन् । सिँगो राजपा एकता गराउन नसकेपनि आफूलगायत केही प्रभावशाली नेताहरु समाजवादी पार्टीमा प्रवेश गर्नेसमेतको आश्वासन नेता महतोले दिएको बुझिएको थियो ।