कांग्रेसको केन्द्रीय समिति बस्दै, उपनिर्वाचनमा छलफल केन्द्रित

होमल्याण्ड खबर

२०७६ कार्तिक १५ गते, शुक्रबार ०९:५९ मा प्रकाशित

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपनिर्वाचनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज दिउँसो बस्ने बैठकमा उपनिर्वाचनको तयारका विषयमा छलफल हुनेछ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनका विषयमा बैठकमा छलफल केन्द्रित रहने बताए ।

नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारहरूको टुंगो लगाउन आन्तरिक छलफल गर्दै आएको छ । टिकटका लागि धेरै नेताहरू आकांक्षी भएपछि टिकट वितरण बन्न कांग्रेसलाई सकस भएको छ ।

सभापति शेरबहादुर देउवाले भ्रातृ संगठनहरूका बारेमा पनि प्रस्ताव राख्न सक्ने नेताहरूले बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्ष र कार्यसमिति बनाउने विषयमा छलफल हुने एक नेताले बताए ।