सनराइज बैंकको मास्टरकार्डसँग सहकार्य

होमल्याण्ड खबर

२०७६ पुष ७ गते, सोमबार १४:२९ मा प्रकाशित

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक जस्तै भिसा र युनियन पे ब्राण्डहरुसँग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना ए।टी।एम र पोइन्ट अफ सेलमार्फत भिषा कार्डहरु स्वीकार गर्दै आएको छ । सर्वसाधारणलाई विश्वस्तरिय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो एटीएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगै स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने भएको छ । नेपाल भ्रमण गर्ने अधिकांस यूरोपेली पर्यटकहरुले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्त ब्राण्डका कार्ड स्वीकार गर्ने एटीएमहरु नेपालमा न्यून रहेका छन् । सनराइज बैंकको यस सेवाले पर्यटकहरुलाई एटीएम मार्फत रकम निकाल्न सहज हुने विश्वास गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमानै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको छ ।

अत्याधुनिक पेमेन्ट सिस्टमसहित नविनतम् सेवा दिने उद्देश्यका साथ बैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथा पोइन्ट अफ सेलमार्फत समेत मास्टरकार्ड स्वीकार गर्नको लागी आवश्यक पहल गरिसकेको छ । हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटीएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ, एक्सटेन्सन काउण्टर र एटीएम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।