१० मंसिर २०८१, सोमबार
नेपाल वायुसेवा निगमले आगामी मार्च १५ मा चीनको ग्वान्जाओ उडान गर्ने भएको छ । ग्वान्जाओ उडानका लागि सबै प्रक्रिया पूरा भएको भन्दै निगमले मार्च १५ देखि सातामा तीन दिन उडान गर्ने निर्णय गरेको हो ।
निगमको २६ मंसिरमा बसेको कार्यकारी समितिको नवौं बैठकले उडान सुरु गर्ने निर्णय गरेको हो । ग्वान्जाओ उडानको मिति तय भएको पुष्टि निगमका सहप्रवक्ता शुलेख मिश्रले गरे ।
उनले ग्वान्जाओ उडानको सबै प्रक्रिया पूरा भएकाले मिति तय गरिएको बताए । एयरबस ३३०–२०० बाट मंगलबार, बिहीबार र आइतबार (आरए ४१७/४१८) ग्वान्जाओ उडान हुनेछ । निगमले ग्वान्जाओ उडानका लागि तत्काल प्रवद्र्धनात्मक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
नारिता उडान तय भएन
निगमले जापानको नारिता उडान पनि छिट्टै गर्ने जनाएको छ । गत २९ अगस्तदेखि जापानकै ओशाका उडान थालेको निगमले नारिता उडानका लागि पनि ताकेता गर्दै आएको छ ।
सह–प्रवक्ता मिश्रले नारिता उडानको मिति तय नभए पनि चाँडै गर्न निगम लागिरहेको बताए । नारिता उडानका लागि निगमले हालसम्म जीएसए छनोट प्रक्रिया गरिसकेको छ भने उडानको स्लट पाएको छ । यस्तै क्याटरिङ सम्झौता भइसकेको, ग्राउन्ड ह्यान्डलिङ र फ्युलिङ सम्झौता पूरा भएको निगमले जनाएको छ ।
साउदी अरब र दक्षिण कोरिया के हुँदै छ ?
साउदी अरबको रियाद उडानका लागि सञ्चालन परमिट फाइल गर्न बेस स्टेसन अडिट पूरा गर्नुपर्ने भएकाले नियमनकारी निकायबाट अडिट गर्न बाँकी रहेको र जीएसए छनोटको प्रक्रियामा रहेको निगमले जनाएको छ ।
यस्तै दक्षिण कोरिया उडानका लागि जीएसए छनोट गरी कोरियाली नियमनकारी निकायबाट अडिट गर्न बाँकी रहेको निगमले जनाएको छ ।