आइएमई र अल अहलिया एक्सचेन्जवीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

होमल्याण्ड खबर

२०७७ फाल्गुन १० गते, सोमबार १५:१२ मा प्रकाशित

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएइ) स्थित कम्पनी अल अहलिया एक्सचेन्ज र आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी भएको छ ।

समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नुहुनेछ । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट यूएइमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्स्चेन्ज यूएइ बाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएइ भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्स्चेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको अल अहलिया एक्सचेन्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए । आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए ।

आइएमई पे ब्राण्डको प्रवद्र्घित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताए । यूएइ नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।