२८ फाल्गुन २०८२, बिहीबार
नेकपा एमालेले कांग्रेस वाग्मती प्रदेश सभा सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिको घोर भत्र्सना गरेको छ ।
शुक्रबार वाग्मती प्रदेशसभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओली सबैकुरा बिगार्न उद्यत रहेकाले आफू गान्धीको हत्यारा नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए ।


‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’ एमालले विज्ञप्तिमा भनेको छ ।
बैद्यको अभिव्यक्तिपछि उनको चौतर्फी विरोध भएको छ । कांग्रेसका नेताहरूले पनि बैद्यको अभिव्यक्ति भर्त्सनायोग्य रहेको बताएका छन् । एमालेका जनसंगठनहरूले बैद्यलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
