प्रधानमन्त्री ओलीको हत्या गर्ने बैद्यको धम्की घोर भत्र्सना गछौँः एमाले

होमल्याण्ड खबर

२०७८ जेष्ठ २९ गते, शनिबार १०:४७ मा प्रकाशित

नेकपा एमालेले कांग्रेस वाग्मती प्रदेश सभा सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिको घोर भत्र्सना गरेको छ ।

शुक्रबार वाग्मती प्रदेशसभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओली सबैकुरा बिगार्न उद्यत रहेकाले आफू गान्धीको हत्यारा नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए ।

उक्त धम्कीप्रति आपत्ति जनाउदै आज पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको हत्या गर्ने बारे दिएको धम्कीलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन्

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’ एमालले विज्ञप्तिमा भनेको छ ।

बैद्यको अभिव्यक्तिपछि उनको चौतर्फी विरोध भएको छ । कांग्रेसका नेताहरूले पनि बैद्यको अभिव्यक्ति भर्त्सनायोग्य रहेको बताएका छन् । एमालेका जनसंगठनहरूले बैद्यलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।