राष्ट्रपतिले राति गरेको निर्णय नहुने भए, सर्वोच्चले ५ बजेपछि गरेका फैसला खारेज हुनुपर्छ

होमल्याण्ड खबर

२०७८ असार १४ गते, सोमबार १६:३९ मा प्रकाशित

महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिले राति, दिउँसो वा साँझ जुनसुकै बेला निर्णय गर्न सक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिरक्षामा बहस गरेका महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् ।

बहसका क्रममा रिट निवेदकहरुले राष्ट्रपतिले मध्यरातमा प्रतिनिधिसभा विघटनको निर्णय गरेको भन्ने प्रश्न उठाएका थिए । त्यसको जवाफमा उनले सर्वोच्चले पनि कतिपय फैसला ५ बजेभन्दापछि गरेको भन्दै सर्वोच्चबाट ५ बजेपछि भएका सबै फैसला खारेज हुनुपर्ने तर्क गरे ।

संविधानसभाले समेत राति राति काम गरेको उनको भनाइ छ ।

यस्तै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबी गर्दे निवेदन लिएर राष्ट्रपति कार्यालय जानुअघि नै उक्त निवेदन मिडियामा कसरी आयो ? ,उनले प्रश्न गरेका छन्।

मिडियामा आएका समाचारपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका केही सांसदले अन्य दललाई समर्थन गरेको थाहा पाएको बताए । उनले यसरी एउटा दलका सासंदले  त्यसरी अन्य दललाई समर्थन गर्न नमिल्ने उनको तर्क छ ।