प्रधानन्यायाधीश राणा र पूर्व महान्यायाधीवक्ता खरेलबीच इजलासमा चर्काचर्की

होमल्याण्ड खबर

२०७८ असार १७ गते, बिहीबार १३:१३ मा प्रकाशित

संसद विघटन सम्बन्धी मुद्धाको सुनुवाईको क्रममा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सरकारी पक्षबाट वकालत गरेका पूर्व महान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता अग्नि खरेलबिच चर्काचर्की भएको छ । सरकार गठनका सम्बन्धमा संविधानको धारा ७६ (२) र ७६ (५) को व्यवस्थालाई लिएर बहसमा चर्काचर्की भएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन खारेज गर्न मागसहित १४६ सांसदको तर्फबाट दायर रिटमा पक्षबाट बहस गर्नेहरुले धारा ७६ (५) मा सांसदहरुलाई दलीय ह्वीप नलाग्ने जिकिर गरेका थिए। तर विपक्षीको बहसको क्रममा सरकार पक्षका वकिलहरुले संविधानमा निर्दलीय व्यवस्थाको परिकल्पना नै नरहेकाले सो धारामा पनि दलीय ह्वीप लाग्ने बताउँदै आएका छन्।

बिहीबारको बहसको क्रममा खरेलले धारा ७६ (५) को व्यवस्था पनि दलका लागि रहेको बताए । प्रधानन्यायाधीश जबराले ‘संविधानको धारा ७६ (२) र (५) के फरक छरु धारा ७६ (५) त दलका लागि नभइ सांसदका लागि रहेको र त्यसमा दलीय ह्वीप नलाग्ने बहस भइरहेको छ निरु’ भनेर प्रश्न गरे । त्यसको जवाफमा अधिवक्ता खरेलले भने, ‘ब्याख्या जसरी पनि गर्न वा लैजान पाइन्छ। तर सो व्यवस्था पनि दलकै लागि हो, त्यस अनुसार सरकार बनाउँदा पनि दलीय समर्थन चाहिन्छ।’
फेरि प्रधानन्यायाधीश जबराले प्रश्न गरे, ‘त्यसो हो भने धारा ७६ (५) अनुसार देउवाको दाबी बेठिक हो त ?’ जवाफमा अधिवक्ता खरेलले, ‘देउवाको दाबी बेठिक हो, त्यसमा पनि दलको समर्थन चाहिन्छ । उहाँले दाबी पेश गर्दा कांग्रेस र माओवादीको दलको निर्णय राख्नु भयो तर एमालेका केही सांसदहरुको समर्थन रहेको भन्दै दलको निर्णय राख्नु भएन। दलीय निर्णय नचाहिने हो भने कांग्रेस र माओवादीको राखेर एमालेको चाहिँ किन नराखेको ? आफ्नो कमजोरी लुकाउन दलको समर्थन चाहिँदैन, केही सांसद मात्रै भए पुग्छ भनेर हुन्छ ? ’ भने।

त्यसपछि फेरि प्रधानन्यायाधीशले दुई व्यवस्थाबिचको भिन्नता खोतल्न सोही विषयमा अर्को तरिकाले प्रश्न गरे इजलासमा । प्रधानन्यायाधीशले भने, ‘संविधानका धाराहरु स्वतन्त्र हुन्छ भन्ने सबैले स्वीकार गरेको कुरा हो। धारा ७६ (५) को व्यवस्था संसारका अरु कुनै देशमा नभएको हो भने अरु धारासँग जोडेर हेर्दा निश्क्रिय हुने अवस्था आउँछ । ७६ (२) र (५) को फरक के हो ?’

जवाफमा खरेलले धारा ७६ (५) देशलाई पटकरपटक चुनावमा जानबाट रोक्नका लागि दलहरुलाई पुनर्विचार गर्नका लागि अवसर दिन गरिएको प्रावधान रहेको बताए । उनले भने, ‘कमि कमजोरी समीक्षा गरि एक पछि अर्को चुनावमा जाने अवस्था आउन नदिनका लागि दलहरुलाई अन्तिम पटक सोच्नका लागि गरिएको व्यवस्था हो ।’

उनले एउटा दलबाट निर्वाचित भएर अर्को दललाई समर्थन गर्न नमिल्ने जिकिर गरे । यस्तो अवस्थामा कमजोर पार्टीको नेताले दल फुटाएर प्रधानमन्त्रीमा दाबी गर्ने अवस्था आउने र संविधानमा सो व्यवस्था नरहेको दाबी उनले गरे ।