९ मंसिर २०८१, आईतवार
नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा निर्माणबाट समृद्धि भन्ने नारासहित आगामी बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । महासंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी साधारणसभा तथा नयाँ नेतृत्व चयन गर्नका लागि हुन लागेको निर्वाचनको तयारी लगभग पूरा भएको जानकारी दिएको छ । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपीशर्मा ओलीले गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । सोही अवसरमा प्रधानमन्त्री ओलीबाट महासंघको वार्षिक स्मारिका निर्माण विशेषांक र महासंघका पूर्वउपाध्यक्ष केशवप्रसाद गौतमद्वारा लिखित पुस्तक नेपालमा निर्माण व्यवसाय समेतको विमोचन हुने कार्यक्रम राखिएको महासंघले जनाएको छ ।
साधारणसभा सफल बनाउन महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको संयोजकत्वमा ३ सय ३१ सदस्यीय मूलआयोजिक समिति गठन गरिएको महासंघले जानकारी दिएको छ । असोज ४ गते साधारणसभाको औपचारिक उद्घाटन भएपछि असोज ५ गते बन्द सत्र सञ्चालन हुने बताइएको छ । बन्द सत्रमा महासचिव रामशरण देउजा तथा कोषाध्यक्ष रोशन दाहालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । असोज ६ गते निर्वाचनमार्फत आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व चयन हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
निर्वाचनमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिवसहित पदाधिकारी र सदस्यहरू गरी ५४ पदका लागि निर्वाचन हुने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिए । महासंघको विधानअनुसार पाँच सदस्य भने पछि अध्यक्षद्वारा मनोनयन गरिने बताइएको छ । साधारणसभामा प्रतिनिधि तथा पर्यवेक्षक गरी देशभरका २५ सयभन्दा बढी निर्माण व्यवसायीहरूको सहभागिता रहने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा महासंघका पूर्वअध्यक्षहरू रमेश शर्मा, यक्षध्वजकार्की, जयराम लामिछाने, अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रामशरण देउजालगायतले सर्वसम्मत् नेतृत्व चयन गर्नका लागि प्रयास जारी रहेको जानकारी दिए । महासंघमा देशभरका १२ हजार ५ सय व्यवसायी आबद्ध छन् ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मंगलबार नै महासंघको सचिवालय अगाडि निर्माण गरिएको महासंघका संस्थापक अध्यक्ष स्वर्गीय वनवारीलाल मित्तल तथा पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनको शालिकको अनावरण गरे । शालिक अनावरण पछिको सभालाई सम्बोधन गर्दै मन्त्री महासेठले निर्माण व्यवसायीहरूको योगदानबिना समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताए । निर्माण व्यवसायीहरूलाई सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको समेत मन्त्री महासेठले बताए । निर्माण व्यवसायी महासंघ देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन रहेकाले महासंघभित्र कसैले पनि राजनीति गर्न नहुने मन्त्री महासेठको भनाइ थियो । मन्त्री महासेठले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्न पनि सुझाव दिए । महासंघका मानार्थ सदस्यजीप छिरिङ लामा शेर्पाले व्यवसायीहरूको समस्याका बारेमा मन्त्री महासेठको ध्यानाकर्षण गराए । महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघ नेतृत्व देशभरका व्यवसायीहरूको हकहितका लागि प्रतिबद्ध रहेको बताए ।