जायदको अर्धशतकमा विराटनगरद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

होमल्याण्ड खबर

२०७५ कार्तिक १२ गते, सोमबार १०:४० मा प्रकाशित

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले हुलास काठमाडौं रोयल्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको टिम विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनाउन सक्यो । विराटनगरले दिएको १५० रनको लक्ष्यसहित ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

उत्कृष्ट सुरुवात गरेको विराटनगरका लागि मोहमद जायदले ६७ रनको अर्धशतकीय इनिङस खेले । यस्तै सुनील धमलाले ३० रन जोडे । जायद र सुनिलले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए ।

त्यस्तै राजेश पुलामी मगरले ३० रन जोडे । काठमाडौका लागि शुसन भारी, बसन्त  रेग्मी र गौरव तोमारले २/२ विकेट लिए ।

यस खेल विराटनगर र काठमाडौंका लागि निकै महत्वपूर्ण खेल रहेको छ ।  प्रतियोगितामा सन्दीपको टिम विराटनगरले अघिल्ला दुई खेल गुमाईसकेको छ । विराटनगर आज विराटनगर काठमाडौंलाई हराएर पहिलो जितको खोजीमा हुनेछ ।

विराटनगर पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजसंग पराजित भएको थियो । विराटनगरले २ खेल खेल्दा अंक जोड्न सकेको छैन । विराटनगर पुछारबाट दोस्रो स्थानमा छ । त्यसैले काठमाडौंविरुद्ध जित निकाल्न नसके विराटनगरलाई प्रतियोगिताको एलिमिनेटरमा पुग्न निकै कठिन हुनेछ ।

ज्ञानेन्द्रको काठमाडौंमाथि जित निकाल्न विराटनगरलाई  निकै कठिन हुनेछ । किनकी काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई हराएको सुखद सुरुवात गरेको काठमाडौं लगातार जितको खोजीमा छ । काठमाडौं १ खेलबाट २ अंक जोडेर लिगको तेस्रो स्थानमा छ ।