दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट, कहिलेदेखि पाइन्छ साट्न ?

होमल्याण्ड खबर

२०८० आश्विन ९ गते, मंगलवार १२:२४ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं र तिहारमा पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको छ ।

‘कहाँ के कति नोट उलपब्ध छ ?

बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको मागअनुसार के कति थपरघट गर्नुपर्ने हो भनेर अहिले राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोटकोष सुविधा लिएका बैंकसँग नयाँ नोटको विवरण मागेका छौं,’ उनले भने, ‘नोटको विवरण संकलन भइसकेपछि घटस्थापनाको आसपासदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्छौं ।’

अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले यही असोज अन्तिम साता घटस्थापना आसपास देखि सूचना नै जारी गरेर सर्वसाधारणलाई नयाँ नोट सटही गरिने शाक्यले बताए ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ ।

गत वर्ष राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थालाई र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गरेको थियो ।