८ मंसिर २०८१, शनिबार
राजधानीको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं प्रतियोगितात्मक हस्तकला मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा कात्तिक २८ गतेदेखि मंसिर २ गते काठमाडौंको भृकुटीमण्डपमा मेला तथा प्रदर्शनी हुने भएको हो । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकला क्षेत्रको बजार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागेको बताएको छ ।
मेलामा ६ वटा प्याभिलियनसहित करिब १ सय ७० स्टल राखिनेछन् । मेलामा ७ वटै प्रदेशका उद्यमी व्यापारीसहित भारत, भुटान, चीन, बंगलादेश, पाकिस्तान आदि अन्तर्राष्ट्रिय व्यापारीको पनि सहभागी रहने आयोजकले जनाएको छ । प्रदर्शनीका अवसरमा बीटुबी मिटिङसमेत राखिएको छ । बीटुबी मिटिङमा भारत, चीन, जर्मनी र जापानका आयातकर्ताहरूले सहभागिता जनाउने महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए । पाँच दिनसम्म चल्ने मेलामा उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू साथै जडिबुटी, अर्थोडक्स चिया आदिको प्रदर्शन तथा बिक्रीका लागि राखिने महासंघले जनाएको छ । मेलामा झन्डै २ लाख अवलोकनकर्ता अवलोकन गर्ने तथा १० करोडभन्दा बढी कारोबार हुने महासंघ अनुमान गरेको छ । मेला अवलोकन गर्ने ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ, जसमा ज्येष्ठ नागरिकलाई निशुल्क तथा विद्यार्थिलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
मेलामा हस्तकला विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गर्न १४ औं हस्तकला प्रतियोगितासमेत आयोजना गरिएको छ र यस वर्ष मैनको मूर्ति बनाउने र ढाकाको कपडा बुनाइ विषयलाई समेटिएको छ । नेपालमा हस्तकलाको बजार करिब १० अर्बको छ भने सोही मात्रामा निर्यात हुने गरेको छ । अमेरिका, युरोपियन मुलुकहरू, चीन, भारतलगायत अन्य मुलुकमा २५ भन्दा बढी बिभिन्न प्रकारका हस्तकला वस्तुहरूको निर्यात भइरहेको छ । हस्तकला क्षेत्रमा झन्डै ११ लाख व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपबाट रोजगारी प्राप्त गरी छन् ।