स्कुल अफ आर्ट्सका डीन तथा विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलका अनुसार, स्कुल अफ आर्ट्समा छनोट प्रक्रिया तीव्र छ । आवेदकमध्ये केहीको विषय विज्ञता स्कुलसँग मेल खाँदा आगामी शैक्षिक क्यालेन्डर र उपलब्ध अनुसन्धान परियोजनाका आधारमा छ जना (२ प्राध्यापक, २ सह(प्राध्यापक र २ सहायक प्राध्यापक) सँग सम्झौता भइसकेको छ । अन्य तीन जनासँगको सम्झौता अन्तिम चरणमा रहेको विश्वविद्यालयले जनाएको छ । नेपाल आइसकेका यी प्राध्यापकहरूमा ब्राजिलियन, अमेरिकन, बेलायती, दक्षिण कोरियाली र चिनियाँ छन् ।
यो कार्यक्रम दुई वर्षभन्दा बढी समयदेखि सञ्चालनमा छ। यसअन्तर्गत एमफिल, पीएचडी वा अनुसन्धान आधारित स्नातकोत्तर तहमा भर्ना भएका विदेशी विद्यार्थीहरूले रिसर्च फेलोस बन्न चाहँदा विश्वविद्यालयले तिनीहरूको शुल्क र होस्टल भाडा मिनाहा गर्ने व्यवस्था गरेको छ । प्राध्यापक वा सहप्राध्यापकको सिफारिसमा यो सुविधा उपलब्ध हुने भएकाले रिसर्चमा आउने विदेशी विद्यार्थीहरूको संख्या ह्वात्तै बढेको छ । खासगरी चिनियाँ विद्यार्थीहरूको आगमन उल्लेख्य छ । विश्वविद्यालयले २७ पटक दीक्षान्त गर्दा ५ हजार हाराहारीमा अन्य देशका विद्यार्थीहरू दीक्षित भए पनि, गत शैक्षिक सत्रमा मात्र ११ जना चिनियाँहरूले पीएचडी र त्यही हाराहारीमा एमबीए तथा अन्य एमए कार्यक्रममा भर्ना लिएका थिए ।
विगत तीन दशकको रेकर्डअनुसार काठमाडौं विश्वविद्यालयबाट दीक्षित हुनेमध्ये करिब १२ प्रतिशत विद्यार्थी विदेशी छन् । गत वर्षसम्म भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेशसहित अमेरिका, क्यानडा, बेलायत, जर्मनी, नर्वे, रुससहित ५५ देशका करिब ५,६६० विद्यार्थीहरू दीक्षित भएका छन् । नेपालभन्दा टाढा रहेका जाम्बिया, दक्षिण अफ्रिका र बेनिनका विद्यार्थीहरूले पनि यो विश्वविद्यालयलाई उच्च शिक्षाको गन्तव्य बनाएका छन् ।
विश्वविद्यालयले ४१ देशका २८४ अन्तर्राष्ट्रिय प्रज्ञिक तथा अनुसन्धान(आधारित संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । पछिल्ला दिनहरूमा संयुक्त अध्ययन अनुसन्धान, संयुक्त पढाइ र डिग्री वितरणमा जोड दिइएको छ । यसअन्तर्गत नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी र दि युनिभर्सिटी अफ साउथ इष्टर्न नर्वेसँग इन्जिनियरिङका विभिन्न विषयमा संयुक्त पीएचडी कार्यक्रम सञ्चालनमा छन् । अस्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयसँग विकास अध्ययन विषयमा संयुक्त पीएचडी, आईआईटी मद्रास र आईआईटी हैदराबादसँग स्नातकोत्तर तथा पीएचडी संयुक्त डिग्री कार्यक्रमहरू निरन्तर छन् ।