विदेशमा ख्यातिप्राप्त प्राध्यापकको आकर्षणमा काठमाडौं विश्वविद्यालय

होमल्याण्ड खबर

२०८२ आश्विन ६ गते, सोमबार १६:५७ मा प्रकाशित

 कक्षा १२ पास गरेपछि नेपाली विद्यार्थीहरूको प्राथमिकता विदेशी विश्वविद्यालयतर्फ मोडिने प्रवृत्ति बढ्दै जाँदा काठमाडौं विश्वविद्यालय (केयू) ले नेपाललाई नै शैक्षिक गन्तव्य बनाउने अभियानलाई तीव्रता दिएको छ । अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त विदेशी प्राध्यापक र अनुसन्धानकर्ताहरूलाई नेपाल ल्याएर शिक्षण तथा अनुसन्धानमा संलग्न गराउने नयाँ कार्यक्रममार्फत विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई विदेशी शैक्षिक अनुभव घरमै उपलब्ध गराउने लक्ष्य राखेको छ ।

विश्वविद्यालयले ‘कल फर इन्टरनेसनल फ्याकल्टी फर ए टिच इन प्रोग्राम’ लागि विज्ञापन गर्दा विश्वभरबाट ४५० भन्दा बढी आवेदन प्राप्त भएको जनाइएको छ । यी आवेदनहरू स्कुलहरूको विषयगत प्राथमिकताका आधारमा छनोट प्रक्रियामा छन् । विदेशी प्राध्यापकहरूलाई आकर्षित गर्न विश्वविद्यालयले स्थानीय प्राध्यापकभन्दा ५० प्रतिशत थप तलब–भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ । यसैअन्तर्गत स्कुल अफ एजुकेसनमा ताइवान, भारत, नर्डिक देश र अमेरिकाबाट चार जना प्राध्यापकहरूले अध्यापन सुरु गरिसकेका छन् ।