प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता, पेसी ७ मंसिरमा

होमल्याण्ड खबर

२०८२ मंसिर २ गते, सोमबार १३:३३ मा प्रकाशित

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतको आदेश अवहेलना गरेको आरोपमा दायर भएको रिटमाथि ७ मंसिरमा प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

गत १६ कात्तिकमा सर्वोच्च अदालतले सरकारले विभिन्न देशका लागि राजदूत फिर्ता गर्ने निर्णय अस्थायीरूपमा रोकिनेगरी अन्तरिम आदेश जारी गरेको थियो । तर, सोही आदेश भोलिपल्टै १७ कात्तिकमा प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई पुनः फिर्ता बोलाउने कदम चालेकी थिइन् ।
अदालतको निर्देशविपरीत कार्य गरेको दाबी गर्दै अधिवक्ता प्रेमराज सिलवालले अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चले उक्त रिटलाई ७ मंसिरमा पेसी तोकी प्रारम्भिक सुनुवाइ अघि बढाइने जानकारी दिएको छ ।

यसअघि सरकारले ३० असोजमा चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका लागि नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।