एसीसी यू-१९ प्रिमियर कप फाइनल : यूएईले दियो नेपाललाई १ सय ४८ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८२ मंसिर १६ गते, सोमबार १४:३० मा प्रकाशित

यूएईले एसीसी मेन्स यू-१९ प्रिमियर कप-२०२५ को फाइनलमा सोमबार पहिले ब्याटिङ गर्दै नेपालसामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दयानन्द मण्डलले घातक बलिङ गरेपछि यूएईले ठूलो स्कोर बनाउन सकेन । यूएईको अजमनमा भइरहेको फाइनलमा टस जितेर नेपालले यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

यसक्रममा यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका लागि अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए ।

उनले १ सय २६ बलको सामना गरेर ६ चौका प्रहार गरे । यस्तै नूरउल्लाह आयुबीले २६ रन जोडे । नेपाली बलरमध्ये दयानन्दले १७ रनमा ६ विकेट लिए । नेपाल र यूएई फाइनलमा प्रवेश गरेसँगै यू–१९ एसियाकपका लागि छनोट भइसकेका छन् ।