१५ भाद्र २०८३, सोमबार
गोरखाको चुमनुब्री गाउँपालिका–७ स्थित चौरीखर्कभन्दा पारिपट्टिको भीरमा सोमबार बिहान ठूलो पहिरो गएको छ। बिहान करिब साढे १० बजेतिर गएको पहिरोले बुढीगण्डकीको सहायक नदी स्यारखोला केहीबेर थुनिएको थियो।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार चौरीखर्कभन्दा पारिपट्टि भीरबाट ठूलो पहिरो खसेपछि स्यारखोला थुनिएको हो। ‘सोमबार बिहान उक्त स्थानमा पहिरो खस्दा बुढीगण्डकीको सहायक नदी स्यारखोला केहीबेर थुनिएको थियो,’ अध्यक्ष लामाले भने,’अहिले थुनिएको खोला खुलिसकेको छ।’


जोखिम बढ्ने सम्भावना देखिएपछि पहिरो खसेको स्थानभन्दा तलतिर रहेका जगत,घट्टेखोला,सल्लेरीलगायत बस्तीका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको अध्यक्ष लामाले बताए।