नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी संस्थाका समसामयिक विषयमा छलफल गरेको हो ।


भेटका क्रममा अध्यक्ष उप्रेतीले नाडाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेका थिए ।
नाडाले राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिमा सम्बन्धित संघसंस्था र सरकारी निकायलाई आवश्यकताअनुसार सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । यस्ता गतिविधिले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्य दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति थियो ।
नाडाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।




