१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौंदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुर्याउन आग्रह गरेका छन् ।
सैनिक मञ्च टुँडिखेलमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै उनले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्ने बताए ।
ओलीले भने, ‘हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्र्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ । परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् ।हाम्रो जिम्मेवारी पनि बदलिएको छ ।’
निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अहिले गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध तथा आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा अग्रसर छौं, उनको भनाई थियो ।
यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘स्वदेश र विदेशका लगानीकर्ताको संलग्नतामा आउँदो चैत महीनामा लगानी शिखर सम्मेलनको आयोजना गरिँदैछ । लोकतन्त्र प्राप्तिको सात दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रको पनि नैतिक समर्थन प्राप्त गरेका छौं ।’
अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको, द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको, आफ्ना समस्या आफैँ हल गर्नसक्ने क्षमता प्रदर्शित भएको र अहिले अन्तर्रा्ष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्री ओलीले भनाइ थियो ।
विसं २००७ फागुन ७ गते आजकै दिन नेपालीको एकताबद्ध सङ्घर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको गौरवमय दिनको सम्झना र सम्मानमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ ।