१० मंसिर २०८१, सोमबार
नेपालमै पहिलो पटक काठमाडौं बाहिर विराटनगरमा आयोजना हुने पाँचौं साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको लागि एकै पटक चारवटा खेल मैदानको तयारीमा तिव्रता दिइएको छ ।
साफ महिला फुटबल प्रतियोगितालाई लक्षित गरी विराटनगरमा सहिद रंगशालासहित थप तीनवटा मैदानको स्तरोन्नति गरिँदैछ । मुख्य खेलमैदान, प्रशिक्षण तथा अभ्यास खेल मैदानहरुको स्तरोन्नति र व्यवस्थापनलाई विशेष ध्यान दिएर काम अघि बढाइएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आगामी फागु्न २८ गतेदेखि चैत ८ सम्म प्रतियोगिता हुँदैछ । यसको मुख्य खेल मैदान सहिद रंगशालाको व्यवस्थापन लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । सहिद रंगशालालाई अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउनकै लागि तयार गरिएको छ । पछिल्लो पटक यो मैदानमा विराटनगर गोल्डकप फुटबल प्रतियोगिता आयोजना भएको थियो । डे नाइट खेलाइएको यो प्रतियोगिता हेर्न दर्शकको थामिनक्सनुको घुइँचो लागेको थियो । साफलाई लक्षित गरी दिल्ली पब्लिक स्कुल, प्रदेश प्रहरी तालिम केन्द्र रानी र विराटनगर जुट मिल्सको खेलमैदानलाई अभ्यासको लागि मर्मत गरिएको एन्फाले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का उपमहासचिव बसन्त अर्याल भन्छन्,‘‘विराटनगरमा यत्रो ठूलो प्रतियोतिगा आयोजना हुनु गर्वको विषय भएकोले हामीहरु निकै सतर्क र गम्भीर भएर यसको तयारीमा जुटेका छौं ।’’ उनले प्रतियोगिताको तयारीमा कुनै पनि कमजोरी बाँकी नराखिने दाबी गरेका छन् ।
विराटनगर महानगरपालिकाले मैदान आसपासको सडकको कालोपत्रे गर्ने, मैदानभित्रै आवश्यक पर्ने संरचना निर्माण गर्ने र मैदान पेरिफेरी रंगरोगनको कामसमेत थालेको छ । प्रदेश १ को प्रतिष्ठा मानिएको यो प्रतियोगितामा महानगरले सहयोग गरेको बताउँदै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने,‘‘यो प्रतियोगिता नेपालमा नभए श्रीलंका लग्ने भन्ने तयारी थियो तर महानगरले समेत सहयोग गर्ने प्रतिबद्धतासाथ विराटनगर ल्याइएको हो ।’’ प्रमुख पराजुलीले यो प्रतियोगिता सफल गर्न सके प्रदेश १ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम छ भन्ने सन्देश जाने बताए ।
प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ । नेपाल, भारत, भुटान, पाकिस्तान, बंगलादेश, मालदिप्स र श्रीलंकाका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने प्रतियोगितामा आवश्यक पर्ने खेल संरचनाको मर्मत र स्तरोन्नति, मुख्य खेलमैदान सहिद रंगशाला परिसरमा चेन्जिङ रुम व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । मुख्य मेलमैदान तथा अभ्यास मैदानको लेवलिङ, माटो फिटिङको काम धमाधम भईरहेको छ । झार उमार्न कामदारहरु दैनिक खटिएका छन् ।
एन्फाका केन्द्रीय सदस्य तथा प्रतियोगिता प्रचार प्रसार समितिका संयोजक किरण राईले स्पर्धालाई व्यापक बनाइ सहभागिता बढाउन भारतका दर्शकलाई समेत विराटनगर भित्र्याइने जानकारी दिए । भने,‘‘हामीले विराटनगर आसपासका भारतका ठूला सहरसम्म पुगेर प्रतियोगिताबारे प्रचार प्रसार गर्ने योजना बनाएका छौं ।’’ स्पर्धामा दर्शकको भूमिका निकै महत्वपूर्ण हुने राईले बताए ।