१० मंसिर २०८१, सोमबार
नेरी थापाको उत्कृष्ट प्रदर्शन प्रेरित नेपालले आईसीसी महिला विश्वकप अन्तर्गत एसिया छनोटमा युनाइटेड अरब इमिरेट्सलाई ७ विकेटले पराजित गरेको छ ।
तेस्रो खेलमा दोस्रो जित निकालेको नेपालले जितसँगै छनोट हुने सम्भावना कायम राखेको छ । ४२ रनको झिनो लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अविजित १८ तथा काजल श्रेष्ठले १५ रन बनाइन् । उपकप्तान सिता रानामगरले ६ रन जोडिन् । युएईकी इसा रोहितले २ विकेट लिइन् ।
यसअघि टेडथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएई १७.३ ओभरमा ४१ रन जोड्दा अलआउट भएको थियो । आजको जितसँगै छनोटको सम्भावना कायम राखेको नेपाल २ मा जित र १ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।
पराजित युएई ६ अंकका साथ शिर्ष स्थानमा रहँदा ४ अंकका साथ थाइल्याण्ड दोस्रो स्थानमा छ । नेपालले अब फागुन १२ गते हङकङसँग र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।