नेकपा फुटको संघारमा: पार्टी एकताको लागि बनेको कार्यदल भंग

होमल्याण्ड खबर

२०७५ फाल्गुन १० गते, शुक्रबार १३:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक एकीकरणका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदल भङ्ग गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको म्यादबारे निर्णय लिन बसेको सचिवालय बैठकले कार्यदल भङ्ग गरी बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको हो।

यसअघि बिहीबार बसेको संयुक्त बैठकमा कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए। तर, सचिवालयले यस विषयमा निर्णय गर्न सकेको थिएन।

बिहीबार मात्र कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए । तर, सचिवालयले त्यसका बारेमा निर्णय गर्न सकेको थिएन ।

गएको मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिससहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो।

शुक्रबारको बैठकले कार्यदल विघटन गरेपछि पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको बताइएको छ ।

कार्यदलको विघटन गर्ने विषयमा सचिवालय सदस्य तथा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले असहमति जनाएका छन्।

कार्यदलमा संयोजक थापासहित सदस्यमा महासचिव विष्णु पौडेल, शङ्कर पोख्रेल, वर्षमान पुन, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, वेदुराम भुसाल र लेखराज भट्ट रहेका थिए।

यसरी नेकपाभित्र देखिदै गएको आन्तरिक कलहले एकता भएको वर्षदिन नबित्दै फुटको संकेत देखा पर्न थालेको नेकपाभित्रैका नेताहरुले बताएका छन् । पार्टी एकता सम्बन्धमा खाका तयार गर्न बनेको कार्यदल भंग भएसँगै पार्टी फुटको संघारमा अघि बढेको उनीहरुको तर्क छ ।