१० मंसिर २०८१, सोमबार
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सेभियालाई पराजित गरेको छ ।
शनिबार राति सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस स्वारेजले एक गोल गरे । सेभियाका लागि जेसस नाभास र गाब्रियल मेर्काडोले एक एक गोल गरे । मेस्सीले करियरको ५० औं ह्याट्रिक पुरा गरेका छन् ।
खेलको २२ औं मिनेटमा नाभासले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर २६ औ मिनेटमा मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए । ४२ औं मिनेटमा मेर्काडोले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाए ।
यस्तै, ६७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । ८५ औं मिनेटमा मेस्सीले तेस्रो गोल गर्दै टिमलाई ३–२ अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए ।
जितसँगै बार्सिलोना २५ खेलबाट ५७ अंकसहित शीर्षस्थानमै छ । दोस्रो स्थानको एट्लेटिकोको ४७ अंक छ । पराजित सेभिल्ला ३७ अंक सहित पाँचौ स्थानमा छ ।