१ मंसिर २०८१, शनिबार
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरलाई पोखरा लगिएको छ ।
अधिकारीसहित दुर्घटनामा निधन भएका ७ जनाको टुँडिखेलमा सामूहिक रुपमा बिहान ८ बजेदेखि ११ बजेसम्म राखिएको श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शवलाई गृह जिल्ला पोखरा लगिएको हो ।
अधिकारीको शवलाई पोखरामा केहि घण्टा श्रद्धाञ्जलीका लागि राखिने र रामघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।
त्यस्तै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शवलाई भने उनको घरमा दुई दिनसम्म राखिने र आइतबार टेकुमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
अन्य ५ जनाको शवलाई भने आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको हो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।