श्रद्धाञ्जलीका लागि अधिकारीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

होमल्याण्ड खबर

२०७५ फाल्गुन १९ गते, आईतवार ०८:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपाको केन्द्रीय पार्टी कार्यालय धूम्रबाराहीमा राखिने भएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।

नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

श्रद्धाञ्जलीका लागि बिहान ८ बजे उनको पार्थिव शरीर पार्टी कार्यालय लगिने कार्यक्रम रहेको छ ।

तत्कालिन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔंजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।

श्रद्धाञ्जलीपछि शवयात्रासहित पशुपति आर्यघाटमा अधिकारीको अन्त्येष्टि गरिने सचिव श्रेष्ठले जानकारी दिए ।