१० मंसिर २०८१, सोमबार
बिर्तामोडमा जारी झापा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि आज सशस्त्र प्रहरी एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल मंगलबार डोमालाल राजवंशी रंगशालामा हुने आयोजकले जनाएको छ। सोमबार भएको खेलमा विदेशी पाहुना टोली हङकङ नेप्लिज एकाडेमीलाई स्तब्ध पार्दै आयोजक झापा–११ झिनो गोल अन्तरले पराजित गर्दै चौथो संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा हङकङलाई १–० गोल अन्तरले जित निकाल्दै घरेलु टोली झापा–११ अन्तिम चारमा प्रवेश गरेको हो।
झापाले सेमिफाइनलमा नेपाल प्रहरी र थ्री स्टार क्लबबीच हुने खेलका विजेता टिमसँग भिड्नेछ।
खेलको ४२ औं मिनेटमा झापाका निशान्त खड्काको क्रसमा कप्तान कर्ण लिम्बूले हेड मार्फत बललाई जाली चुमाए।खेलमा झापाका निशान्त खड्का म्यान अफ दि म्याचको उपाधिसँगै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
फागुन २७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।