कोहलीको शतकमा भारतले अष्ट्रेलियालाई हरायो

होमल्याण्ड खबर

२०७५ फाल्गुन २२ गते, बुधबार ११:२० मा प्रकाशित

दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारतले अष्ट्रेलियालाई हराएको छ ।

मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई आठ रनले हराएको हो ।

नागपुरमा भारतले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलिया ४९.३ ओभरमा अल आउट हुँदै २ सय ४२ रनमा समेटियो ।

अष्ट्रेलियाका मार्कस स्टोइनिसले ५२, पिटर हृयाण्ड्स्कम्बले ४८, उस्मान खवाजाले ३८ र कप्तान एरोन फिन्चले ३७ रन बनाए ।

भारतका लागि कुलदीप यादवले ३ तथा जस्प्रित बुम्रा र बिजय शंकरले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै २५० रन बनाएको थियो ।

भारतको लागि कप्तान विराट कोहलीले ११६ रनको शतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले ४६ रन बनाए । यस्तै, शिखर धवन र रविन्द्र जडेजाले समान २१, अम्बाटि रायडू १८ र केदार जाधवले ११ रन बटुले । ओपनर रोहित शर्मा, विकेटकिपर महेन्द्र सिंह धोनी र जस्प्रित बुम्रा शून्यमै आउट भए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ तथा आडम जाम्पाले २ विकेट लिए । यस्तै, नाथन कुल्टर नाईल, ग्लेन म्याक्सवेल र नाथन लायनले समान एक/एक विकेट लिए ।

जितसँगै भारतले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । तेस्रो खेल आगामी ८ मार्चमा राँचीमा हुने छ ।