८ मंसिर २०८१, शनिबार
युवा पुस्ता सामाजिक सञ्जालका माध्यमबाट ठगिएका वा अपराधमा फसेका घटना त सुनिरहेकै छौं । तर चाहनेलाई यही माध्यम पवित्र काम गर्ने अवसर पनि हुँदो रहेछ ।
सुप्रभा सुबेदी बी.एस.सी नर्सिङ तेस्रो वर्षकी विद्यार्थी हुन् । उमेरले पनि सामाजिक सञ्जालमा रमाउने बेला । तर सधै रमाइलो किन हुन्थ्यो र ? मनै त हो । एउटा भिडियोले दुःखी बनायो ।
पाविल मिडियाले बनाएको उक्त भिडियो एक सात वर्षीय बालिका सोममाया चेपाङको बारेमा थियो । सोममाया स्कूल जादै थिई । उ पढ्न चाहन्थी । माघको चिसोबाट जोगिन उसँग चप्पल त थियो तर चँुडिएको । लुगा त थियो, लगाउनै नमिल्ने । उसको झोला पनि त्यस्तै, बोक्नै नमिल्ने । हरेकलाई डोरीले बाँधेरै भए पनि काम चलाएकी थिई । तर उसले स्कूल छोडेकी थिइन् ।
सोममाया मात्रै होइन श्री रोवाङ आधारभुत विद्यालयका १ सय १८ विद्यार्थीको हालत त्यस्तै थियो । अधिकांश बालबालिकाको खुट्टामा चप्पल थिएनन् । साना तर चिसोले पट्पट् फुटेका पैतला !
सुप्रभाले बालिकाको दुःख संझिरहिन् । उनी निदाउँनै सकिनन् । दिउँसो पनि पढाइमा ध्यान गएन । घर फर्किदा पनि त्यही याद आयो ।
सुप्रभाले बच्चाहरुको व्याथा बुवा आमा र मिल्ने साथीलाई सुनाइन् । शुरुमा त धेरैले वास्तै गरेनन् । उनले प्रस्ताव गरी रहिन् ‘केही गरौं ।’ बुवा आमाले दिएको सहयोगमा सान नर्सिङ कलेजका साथीहरु पनि थपिए । साबुन, मन्जन, ब्रस, नेलकटर, काइयो, कपालमा लगाउने तेल, गन्जी लिएर फागुन १९ गते रोराङ पुगे । पृथ्वी राजमार्गबाट ४ कि. मी माथि जान स्थानीय समाजसेवी ऋषिनाथ त्रिपाठीले समन्वय गरिदिए ।
नर्सिङका विद्यार्थी उनीहरुले बच्चासँग खेले । हातमुख धुन, दाँत माझ्न, र नङ काट्न सिकाए । सहयोग गरेर खुसी भएकी सुप्रभाले भनिन् ‘जे सक्यौं त्यही गरियो ।’