१० मंसिर २०८१, सोमबार
स्पेनिस ला लिगा फुटबलको लिग लिडर बार्सिलोनाले ७ अंकको अग्रता कायम गरेको छ ।
शनिबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ ले पराजित गरी ७ अंकको अग्रता कायम गरेको हो ।
बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र जिरार्ड पिकेले एक एक गोल गरे । यता, रायो भालेकानोका लागि टोमस गोमेजले एक गोल गरे ।
खेलको २४ औं मिनेटमा गोमेजले गोल गर्दै रायोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३८ औं मिनेटमा बार्सिलोनाका पिकेले गोल गर्दै खेल बराबरी ल्याए । ५१ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए ।
त्यस्तै, ८२ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए ।
जितसँगै बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ७ अंकले पछि पारेको छ । बार्सिलोनाले २७ खेलबाट ६३ अंक जोडेको छ । मड्रिडको समान खेलबाट ५६ अंक छ भने तेस्रो स्थानको रियल मड्रिडको ४८ अंक छ । पराजित रायो भालेकानो २३ अंकसहित रेलिगेसन जोनको १९ औं स्थानमा छ ।
त्यस्तै, शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लेगानेसलाई १–० गोलअन्तरले पराजित गरेको छ । गेटाफेले हुएस्कालाई २–१ गोलअन्तरले पराजित गर्दा अलाभेस र इबार भने १–१ गोलको बराबरीमा रोकिएका छन् ।