युभेन्ट्सलाई कम ब्याक गर्ने मौका, एट्लेटिको रोक्न चाहन्छ

होमल्याण्ड खबर

२०७५ फाल्गुन २८ गते, मंगलवार १२:५५ मा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत आज (मंगलबार) राति दुई खेल हुँदैछन् । आज हुने खेलमा इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दै छ ।
प्रि–क्वाटरफाइनलको पहिलो लेगमा २–० गोलले पछि परेको युभेन्ट्सलाई आजको खेलमा कमब्याक गर्र्दै क्वाटरफाइनलमा स्थान बनाउने मौका हुनेछ ।

उता पहिलो लेगमा सहज जित निकालेको एट्लेटिको दोस्रो लेगमा पनि सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउनले योजनामा हुनेछ । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । खेल युभेन्ट्सको घरेलु मैदानमा हुने भएकाले युभेन्ट्सलाई भने राहत पक्कै मिल्नेछ ।

यता ला लिगाको दोस्रो स्थानमा रहेको एटे्लेटिकोले ला लिगा र च्याम्पियन्स लिगमा भएका पछिल्ला पाँच खेलमा जित  निकाल्न सफल भएको छ । युभेन्ट्स भने सिरी ए र च्याम्पियन्स लिगमा भएका पछिल्ला पाँच खेलहरुमा एकमा हार र चार खेलमा जित निकाल्न सफल छ ।

सोमबार राति नै हुने अर्काे खेलमा प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटीले एफसी साल्केसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रि–क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा सिटीले ३–२ गोलले जित हात पारेको थियो । आजको खेलमा पनि जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान बनाउने लक्ष्यमा सिटी रहनेछ । उता पहिलो लेगमा ३–२ गोलले पछि परेको साल्के आजको खेलमा जित  निकाल्दै आफुलाई अघिल्लो चरणमा पुर्याउने लक्ष्यमा हुनेछ ।

दुबै टोलीबीचको खेल सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।