नेपाल र जापानबीच श्रम सम्झौता सम्पन्नः अप्रिल १ देखि कार्यान्वयनमा आउने

होमल्याण्ड खबर

२०७५ चैत्र ११ गते, सोमबार १३:४९ मा प्रकाशित

कामदार लैजाने विषयमा नेपाल र जापानबीच श्रम सम्झौता भएको छ।

सोमबार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा आगामी अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी ९एमओसी० मा हस्ताक्षर भएको हो।

नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अब जापानले भाषा परिक्षा पास गरेका योग्य कामदार जान पाउने भएका छन् भने उनीहरुको न्यूनतम तलब २ लाख रुपैयाँ हुनेछ।

१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ।

जापानले नयाँ नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको जनाएको छ। त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ। जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको छ।

नेपालले जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शुन्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरेको छ ।