१० मंसिर २०८१, सोमबार
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ७९ रन, सरफराज खानले अविजित ४६, मयंक अग्रवालले २२ र निकोलस पुरनले १२ रन बनाए ।
राजस्थानका बेन स्ट्रोक्सले दुई तथा धवन कुलकर्णी र कृष्णप्पा गौतमले एक एक विकेट लिए ।
एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो ।
राजस्थानका लागि जोश बट्लरले ६९ रन, सन्जु सामसनले ३०, कप्तान अजिंका रहानेले २७ र स्टिभ स्मिथले २० रन बनाए ।
पन्जाबका साम कुरान, मुजिब उर रहमान र अंकित राजपुतले दुई दुई विकेट लिए ।