दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

होमल्याण्ड खबर

२०७५ चैत्र १२ गते, मंगलवार ११:४१ मा प्रकाशित

घरेलु टोलीका युसुफ नासिरले पेनाल्टीमा निर्णायक गोलगरेपछि नेपाल कुवेतसंगको दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाल सोमबार राती दोस्रो खेलमा १–० ले पराजित भएको हो । 
अल साहब रंगशालामा २९ औं मिनेटमा कुवेतले अग्रता लिएको थियो ।

नेपाली खेलाडीले गरेका फाउलमा प्राप्त पेनाल्टीमा कुवेतका नासिरले गोल गरे । बाँकी समय नेपालले पुनरागमन गर्न नसक्दा हार ब्यहोरेको हो । 
खेलपछि प्रशिक्षक जोहान कालिनले पेनाल्टीको गोल नै नेपालका लागि दुर्भाग्य भएको बताए । प्रशिक्षण सम्हालेपछि पहिलो पटक खेलाडीको प्रदर्शन जाँच्ने मौका पाएका कालिनले खेलाडीका कमजोरी पत्ता लगाउन सजिलो भएको बताए । उनले भने, ‘हामीले राम्रो खेल्यौ दुर्भाग्य पेनाल्टीमा गोल भयो । समग्रमा कुबेतलाई कडा टकर दियौं । यो प्रतियोगिताले हाम्रो कमजोरी पत्ता लगाउन ठूलो सहयोग भयो।’