आईपीएल: चेन्नईद्वारा दिल्ली पराजित

होमल्याण्ड खबर

२०७५ चैत्र १३ गते, बुधबार ०८:१७ मा प्रकाशित

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविकको विजेता चेन्नई सुपर किङ्सले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो ।

फिरोज कोट्ला क्रिकेट स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

चेन्नईका लागि ओपनर शेन वाटशनले ४४, सुरेश रैनाले ३०, केदार जाधव २७ र आम्बाती रायडु ५ रन बनाए । यस्तै, महेन्द्र सिंह धोनी ३२ रनमा अविजित रहे । दिल्लीका लागि अमित मिश्राले २ तथा ईशान्त शर्मा र कागिसो रबाडाले १ १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनायो । दिल्लीका लागि शिखर धवनले ५१ रन, ऋषब पन्तले २५ तथा पृथ्वी शले २४ रन जोडे । यस्तै, कोलिन इनग्राम २, किमो पल डक, अक्षर पटेल ९ र राहुत तेवतियाले ११ रन बनाए । चेन्नईका लागि ड्वाने ब्राभोले ३ तथा दिपक चाहर, रविन्द्र जडेजा र इमरान ताहिरको नाममा १ १ विकेट लिए ।

चेन्नईविरुद्ध दिल्लीले नेपाली टोलीका लेग स्पिनर सन्दीपलाई मैदान उतारेनन् । सन्दीप पहिलो खेलमा समेत दिल्लीको टोलीमा अटाएका थिएनन् ।

जितसँगै चेन्नई २ खेलबाट ४ अंकसहित लिगको शीर्ष स्थानमा छ । दिल्ली २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो । दिल्लीले मुम्बई इण्डियन्सलाई हराएको थियो ।