सूचनाका नाममा लोकतन्त्रलाई खतरामा पार्ने काम गर्नु हुँदैनः सभामुख महरा

होमल्याण्ड खबर

२०७५ चैत्र १३ गते, बुधबार १४:११ मा प्रकाशित

सभामुख कृष्णबहादुर महराले सूचनाका नाममा लोकतन्त्रलाई खतरामा पार्ने काम गर्न नहुने बताएका छन् ।

बुधबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महराले सूचना माग्न पाउनु र सूचना प्रवाह गराउनु सबैको दायित्व भएपनि लोकतन्त्रलाई नै खतारामा पार्ने किसिमका काम गर्न नहुने बताएका हुन् ।

मुलुकमा अपारदर्शिता बढेमा वा सूचना लुकाउने प्रवृत्ति बढेमा सूचनाको हकसम्बन्धी कानून र आयोगको अत्यावश्यकता हुने तर सूचनाको सहज पहुँच भएमा कानून र आयोगको औचित्य हुँदैन भन्दै सभामुख महराले भने, ‘वास्तविक राष्ट्रिय एकता कायम गर्ने प्रकारका सूचना प्रवाहमा रचनात्मक हिसाबले सबै लाग्नुपर्छ, सूचनाका नाममा लोकतन्त्रलाई खतरामा पार्ने काम गरिनु हुँदैन, पत्रकारिताको धर्म पनि यही हो ।

सूचनाको हकसम्बन्धी ऐनलाई आवश्यकतानुसार संशोधनका लागि सम्बन्धित पक्षसँग छलफलसहित ल्याइएमा संसद्ले पारित गर्न सहज भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकारका सबै निकायलाई पटक–पटक सचेत गराइएको जानकारी दिए।

राष्ट्रिय सूचना आयोगले विगत ४ वर्षयता सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयन गराउन ५ हजार ७३ वटा आदेश समेत जारी गरिएको पनि उनले जानकारी दिए ।