१ मंसिर २०८१, शनिबार
पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा। रामशरण महतले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ लाई सम्बोधन गर्दै उनले सम्भावना नै सम्भावना रहेको मुलुकमा लगानीको सुनिश्चितता बढी हुने भएकाले नेपालको लगानीमा ढुक्क बन्न विदेशी लगानीकर्तालाई आग्रह गरे ।
उनले राजनीतिक खिचातानीमा लामो समय गुजारेको मुलुक राजनीतिक स्थायित्वसँगै समग्र आर्थिक विकासको बाटोमा अघि बढेको उल्लेख गरे । उनले राजनीतिक स्थिरतासँगै मुलुकको प्राथमिकता आर्थिक विकास रहेकाले लगानीको लागि आवश्यक वातावरण बनेको स्पष्ट पारे ।
विदेशी लगानीलाई प्रोत्साहन गर्नका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पूर्ण समर्थन गर्ने भन्दै उनले निजी क्षेत्रलाई लगानीमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । पछिल्लो समय नेपालमा विदेशी लगानी अत्यन्तै न्यून रहेको भन्दै उनले विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकारसँगै आफ्नो पार्टीले आवश्यक सहयोग गर्ने स्पष्ट पारे । उनले खेलकुद, पर्यटन, उर्जा लगायत कैयौ क्षेत्रमा नेपाल लगानीको लागि उपयुक्त रहेको पनि बताए ।