१ मंसिर २०८१, शनिबार
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लबको २१ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ ।
सधैं यो कुरा किन उठाउनुहुन्छ ?’
पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बाँस्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गरे ।
बास्तविक पत्रकारहरु समेत लज्जित हुन थालेको भन्दै उनले भने, ‘भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा के के सम्म समाचार छाप्नुभयो । आफ्नो समाचार हेरेर आफैंलाई जाज लाग्दैन ? आफ्नो धोती खुस्किएको थाहा छैन सरकारमाथि ख्याउँख्याउँ ‘ अचम्म लाग्छ बा ।’
मन परेन भने कम्युनिस्ट पार्टीको सरकार मन परेन भन्ने हक भएको तर, हुँदै नभएको कुरा नल्याउन आग्रह गरे । उनले अघि भने, ‘कसले फेसबुक ट्वीटरमा प्रतिबन्ध लगाउने भनेको छ ? यहाँबाट पैसा लगेपछि कर चाहिँ तिर्नुपर्छ कि पर्दैन ?’
उनले आगामी बर्षमा समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिड विज्ञापन प्रणाली लागु हुने उद्घोष गरे ।