१ मंसिर २०८१, शनिबार
बारा र पर्सामा भएको बिनाशकारी हावाहुरीबाट क्षति भएकाहरु प्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकारसँग माग गरेका छन् ।
कांग्रेस नेता पौडेलले आइतबार बिहान सन्देश दिँदै बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको बताएका छन् । ‘यो प्रकृतिक विपत्तीबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको छ’, पौडेलले भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु ।’
नेता पौडेलले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपील गरेका छन् ।
‘यो विपतको घडीमा हामी सबै मिलेर उद्धार र राहत प्रदान गर्नुपर्छ’, उनले भनेका छन्, ‘बिरामीहरूको उपचारमा रगतको अभाव भएको छ । अस्पतालमा पुगेर रक्तदान गर्न पनि मेरो आग्रह छ ।’
हावाहुरीले हजारौ सर्वसाधारणको घर, गोठ भत्काइदिएको छ । भत्किएका घर र गोठ निर्माणका लागि पनि राहत दिनुपर्ने कांग्रेस नेता पौडेलले सरकारसँग आग्रह गरेका छन् । वरिष्ठ नेता पौडेलले हावाहुरी पीडितहरूको उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई धन्यावाद पनि दिएका छन् ।
आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म मृतकको संख्या ३० नाघेको छ। त्यस्तै घाइतेहरूको संख्या बारामा ६००ं र पर्सामा ३००ं गरि ९०० भन्दा अधिक रहेको गृहमन्त्रालयले जानकारी दिएको छ । हावाहुरीबाट सैयौं घर पूर्ण नष्ट भएका छन्, करोडौंको क्षति भएको छ।