वर्तमान सरकार समाजवादको बाटोमा छ: प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७५ चैत्र २० गते, बुधबार १४:४१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समाजवादको बाटोमा हिँडिरहेको बताएका छन् ।

काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै ओलीले अधिनायकवादको बाटोमा नभई समाजवादको बाटोमा हिँडिरहेको बताएका हुन् ।

उनले भने, ‘सरकार अधिनायकवादी होइन, समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रतिर अघि बढ्दैछ, समतामूलक समाज निर्माण गर्न तिब्र गतिका साथ अघि बढ्दैछ, यस अवसरलाई हामी कसैले पनि तलमाथि गर्नु हुँदैन ।’

साथै प्रधानमन्त्री ओलीले पाँच वर्ष भित्र मुलुकबाट भोकमरी अन्त्य हुने गरी सरकारले काम गर्ने गर्नुका सथै त्यसको लागि आवश्यक योजनाको सुझाव दिन सबैलाई आग्रह समेत गरे ।

परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ ।

सो मस्यौदामा देखिएको कमीहरुलाई हटाएर त्यसलाई समृद्ध बनाई मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन प्रधानमन्त्रीले सबैलाई आह्वान गर्दै उनले १५ औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको पनि उल्लेख गरे ।