स्थगित भएको ‘मातृभूमी कप’ चैत ३० गते हुने

होमल्याण्ड खबर

२०७५ चैत्र २४ गते, आईतवार १२:०८ मा प्रकाशित

चैत २३ गते शनिबार हुने भनिएको ‘मातृभूमी कप’ अब चैत ३० गते शनिबार हुने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत २३ गते हुने भनिएको खेल खराव मौसमका कारण स्थगित भएको थियो ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सुचना सार्बजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका छन् ।

नयाँ बर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगिताको तयारी भईरहेको उनले जानकारी दिए । मंगलबारदेखि पुनः कलाकारहरुको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।

मातृभूमि कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा नेपाल टिम ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाल टिम ‘बी’ गरी दुई टोलीले खेल खेल्ने कार्यक्रम रहेको छ ।

यस्तै, कलाकारहरुबीचको आर्टिस्ट ‘ए’ र आर्टिस्ट ‘बी’ बीच पनि खेल हुने कार्यक्रम रहेको छ । मदनकृष्ण श्रेष्ठको कप्तानीमा आर्टिस्ट ‘ए’ र हरिवंश आचार्यको कप्तानीमा आर्टिस्ट ‘बी’ टोलीको पनि खेल हुने छ ।

प्रतियोगिताको मिति हेरफेर भएपनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने बताएको छ भने ईसेवा मार्फत टिकट खरिद गर्न सकिनेछ ।