निगमको जापान उडान सुनिश्चित, जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने

होमल्याण्ड खबर

२०७५ चैत्र २६ गते, मंगलवार १३:०३ मा प्रकाशित

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ । जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ । जापान उडानका लागि सम्पूर्ण कागजात आज जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई बुझाइएकाले उडान सुनिश्चित भएको निगमका एक उच्च अधिकारीले जानकारी दिए ।

श्रोतका अनुसार काठमाडौँ–जापान उडानका लागि नेपाली समयअनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ (जापानको समयअनुसार) बजेको उडान पाएको छ । यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो ।

जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नुपर्ने हुन्छ । वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा साताकोे सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ ।

ओसाकापछि नारिता अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि निगमले कागजी प्रक्रिया अघि बढाइसकेको छ । नारिताका लागि पनि साताकोे तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने योजना बनाइएको छ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका–काठमाडौँ उडान समयावधि साढे सात घण्टाको हुनेछ । निगमले जापान उडानका लागि देशीय निर्देशक ‘कन्ट्री म्यानेजर’, फ्युलिङ, क्यटरिङ, कार्यालय, टिकट काउन्टर, ग्राउण्ड ह्याण्डलिङ, सेक्युरिटीलगायत आवश्यक व्यवस्था गरिसकेको जनाएको छ । रासस