१ मंसिर २०८१, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासीका समस्या समाधान नगरेका कारण ठूलो देखिएको बताएका छन् ।
नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमुना सदरमुकामको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठूलो समस्या नै नभएको बताए ।उनले भने,‘सुकुम्वासीको समस्या ठुलो समस्या नै होइनन् । समाधान नगरेर बनेका हुन् ।’
घरखेत नभएका नै वास्तविक सुकुम्वासी भएको भन्दै उनले वास्तविक सुकुम्वासीको पहिचान गरेर समस्या समाधान गरिने बताए ।
उनले भने,‘कावासोतीमा घर छ, बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्वासी हुने पनि चलन छ । नारायणघाटमा ४ तले घर छ यहाँ आउँदा घडेरी छैन भने यहाँ सुकुम्वासी । यहाँ पनि एउटा घडेरी लिने । त्यो पनि चलन छ । त्यस्तो सुकुम्वासी होइन । वास्तविक सुकुम्वासीको समस्या समाधान गरिन्छ ।’
प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माण लगायतका काममा जिम्मेवार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिए । उनले आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि शर्त राखेर गैर जिम्मेबार नबन्न मुख्य मन्त्रीलाई सुझाव दिएका छन् । योजनाबद्ध र दीर्घकालिन दृष्टिकोण राखेर सरकारले विकासका कामहरुमा अघि बढाएको उल्लेख गर्दै उनले निकट भविष्यमा नै मुलुकका संभाव्य सबै स्थानमा जलमार्ग सुरु गरिने दावी गरे ।