१ मंसिर २०८१, शनिबार
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जिल्ला नेतृत्व चयनसँगै पार्टी एकताको फलामे ढोका फोरिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले फलामे ढोका जस्तै रहेको जिल्ला कमिटीको नेतृत्वको मुख्य गाँठो फोरिएको बताए ।
एकता प्रक्रिया समयमै टुंगिन नसक्दा पार्टी र नेतृत्वप्रति प्रश्न उठेको भए पनि अन्ततः सफलताका साथ एकताको सन्र्दभमा जटिल बनेको समस्या समाधान भएको प्रचण्डको भनाइ थियो ।
लामो समयसम्म एकताको सांगठनिक स्वरुपलाई अन्तिम रुप दिन नसक्दा जंगलमा हराउन थालेको अनुभूति पनि विगतमा भएको उनले सुनाए ।
अबको ८ महिना भित्र सबै जिल्ला र प्रवासका कमिटीको सम्मेलन सकेर १ बर्ष भित्र पार्टीको महाधिवेशन गरिने प्रचण्डको भनाइ थियो ।
महाधिवेशन महाबहसको एउटा भट्टिभित्र प्रवेश गर्ने महाअभियान पनि हुने भन्दै प्रचण्डले विसंगति र विकृतिबाट शिक्षा लिएर पार्टी भित्र भएको फोहर मैला सफा गर्नुपर्ने बताए ।
‘फोहर मैला हामीभित्र पनि जम्मा भएको छ । यो फोहर मैला सफा नगरी हामी अगाडि जाने अवस्था छैन,’ प्रचण्डको भनाइ थियो ।