पत्रकार पक्राउप्रति कांग्रेस सभापति देउवाको आपत्ति

होमल्याण्ड खबर

२०७६ बैशाख १५ गते, आईतवार १३:२८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरूलाई पक्राउ गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बूढानीलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै देउवाले पत्रकारहरूलाई अदालत परिसरभित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति जनाएका हुन् ।

आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दाबी गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य हो । कांग्रेस त्यसको विपक्षमा सोच्न पनि सक्दैन ।’

महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेको छ ।